नियम ७५
साप्ताहिक मुद्दा पेसी सूची
(१) सम्बन्धित अधिकारीले  पक्षहरूको नाम, मुद्दाको नाम र नम्बर, मुद्दा फैसला गर्ने न्यायाधीश वा अधिकारीको नाम, मुद्दा पेस हुने दिन, मुद्दामा कानून व्यवसायी नियुक्त भएको भए निजको नाम, पेसी स्थगित भएको पटक, प्रत्यर्थी झिकाउने आदेश गरेको वा अन्य कारणले मुद्दा हेर्न नमिल्ने न्यायाधीश समेतको विवरण खुलाई आगामी हप्ताको लागि पेसीको तारिख तोकिएका मुद्दाको सूची तयार गरी बुधबार सम्ममा प्रधान न्यायाधीश समक्ष पेस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेसी सूची तयार गर्दा खास न्यायाधीशहरूको समूहबाट हेर्ने गरी तोकिएका खास प्रकृतिका मुद्दाहरूका हकमा समूह अनुसारको छुट्टाछुट्टै सूची तयार गरी पेस गर्नु     पर्नेछ ।
(३) इजलासबाट अन्यथा आदेश भएमा बाहेक सम्बन्धित अधिकारीले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११ नं. र नियम ७४ को व्यवस्थाको अधीनमा रही मुद्दा दर्ता भएको मितिको क्रमानुसार शुक्रबार सम्ममा आगामी हप्‍ताको सुनवाईको लागि साप्ताहिक पेसी सूची अदालतको सूचना पाटीमा टाँस्न लगाउनु पर्नेछ ।
(४) उपनियम (३) को प्रयोजनका लागि दर्ता मितिको क्रम निर्धारण गर्दा पुनरावलोकन गर्ने, मुद्दा दोहोर्‍याउने र पुनरावेदन गर्ने अनुमतिको निवेदनमा निस्सा प्रदान भई दर्ता भएको मुद्दा, बृहत् पूर्ण इजलास वा पूर्ण इजलासमा पठाएको मुद्दा, मुलतबीबाट जागेका मुद्दामा शुरू दर्ताकै मितिलाई र मातहतका अदालत वा निकायमा पुन इन्साफको लागि पठाइएको मुद्दा पुन इन्साफ भई सोउपर पुन अदालतमा निवेदन वा पुनरावेदन पर्न आएकोमा वा आंशिक मिलापत्र भएकोमा पहिलेकै दर्ता मितिलाई आधार मानी क्रम निर्धारण गरिनेछ ।